सरकारी कार्यालय ‘दुई सिफ्ट’ पुस १ देखि कडाइसाथ लागू गर्ने तयारी

सरकारी कार्यालय ‘दुई सिफ्ट’ पुस १ देखि कडाइसाथ लागू गर्ने तयारी
खिलानाथ ढकाल काठमाडौं, मंसिर १९ 

सामान्य प्रशासन मन्त्रालयले आगामी पुस १ गतेदेखि सरकारी कार्यालय कडाइसाथ ‘दुई समय’ सञ्चालन गर्ने अन्तिम तयारी थालेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्बन्धित सबै मन्त्रालयका सचिव तथा सह–सचिवलाई डाकेर ‘दुई समय’ कार्यालय सञ्चालनको तयारीबारे जानकारी मागेका छन् ।

शुक्रबार ११ बजेदेखि मन्त्रालयमा यसबारेमा मन्त्री पण्डितले सम्बन्धित मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिरहेको उनका स्वकीय सचिव वसिम आलमले सेतोपाटीलाई जानकारी दिए । ‘पुस १ गतेदेखि कडाइका साथ दुई समय कार्यालय सञ्चालन गर्न निर्देशन दिनुभएको छ,’ आलमले टेलिफोनमा भने, ‘अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’

आलमका अनुसार सिडिओ कार्यालय, नगरपालिका, जिल्ला विकास समिति, यातायात कार्यालय, मालपोत कार्यालय, खानेपानी कार्यालय, विद्युत कार्यालयलाई दुई समयका लागि सक्रिय हुन निर्देशन गरेका छन् । त्यसका लागि आइलाग्ने समस्या तथा समाधानका लागि मन्त्री पण्डितले मन्त्रालय जिम्मेवार भएर प्रस्तुत हुने जनाएका छन् ।

अत्यावश्यक सेवाका कार्यालयमा कर्मचारी अपुग भए नयाँ नियुक्तिद्वारा पूर्ति गर्न मन्त्रालय तयार रहेको पण्डितले अधिकारीहरूलाई बचन दिएका छन् ।

कार्यालय प्रमुखले १२ घन्टा समय दिन नसक्ने भए निमित्तलाई अधिकार प्रत्यायोजन गर्ने मन्त्रालयको तयारी छ । आलमका अनुसार पुस १ गतेदेखि कम्तीमा प्रशासनमा नागरिकता फाँट, राहदानी शाखा, विद्युतमा महसुल शाखा, यातायातमा लाइसेन्स शाखा, खानेपानी महसुल शाखा, मालपोतमा जग्गा पास गर्ने शाखा खुल्नेछन् । गाउँविकास समिति, वडा समितिहरू सक्रिय बनाउन पहल थालिएको छ । राजधानी तथा सेवाग्राहीको बढी चाप हुने क्षेत्र भैरहवा, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर लगायत स्थानलाई प्राथमिकतामा राखिएको छ ।

यस्ता कार्यालयमा कर्मचारी बाँडफाँटको चाँजोपाँचो मिलाइने भएको छ । ‘सेवाग्राहीको भीड नहुने अन्य सरकारी कार्यालयबाट पनि कर्मचारी बाँडफाँट गरिने छ,’ आलमले भने । देशभरि सेवाग्राहीले समयमा सेवा नपाएको गुनासो बढ्दै गएको भन्दै मन्त्रालयले दुई समय कार्यालय सञ्चालनको तयारी थालेको थियो ।

मंसिर ४ गते मन्त्रिपरिषद् बैठकमा मन्त्री पण्डितले दुई समय कार्यालय सञ्चालन तयारीबारे जानकारी गराएका थिए । मन्त्रीपरिषद् बैठकले पारित गरेपछि दुई समय कार्यालय सञ्चालनको चाँजोपाँजो मिलाउन सुरू गरिएको थियो ।
दुई समय कार्यालय सञ्चालन भए कर्मचारी बढी जिम्मेवार हुने विश्वास गरिएको छ । अहिले १० बजेदेखि ५ बजेसम्म सरकारी कार्यालय खुल्छन् । कतिपय सरकारी कार्यालयमा हाकिम समयमा नभेटिएको, ११ बजे कार्यालय पुगेर कर्मचारी काममा भन्दा गफमा बढी केन्द्रित हुने गरेको, समयमा सेवा नदिने गरेको लगायत गुनासो मन्त्रालयमा आउने गरेको छ ।

‘कार्यालयमा नबस्ने तथा चुस्त सेवा नदिने कर्मचारीको लिस्ट तयार पार्ने काम पनि भइरहेको छ,’ आलमले भने, ‘त्यस्ता कर्मचारीलाई तुरून्त कारबाही गर्न मन्त्रीज्यूले निर्देशन गर्नुभएको छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.